घाेडाघाेडी २९ भदौ, सुखड । महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा घोडाघोडी जेसीज वर्ष २०२६ ले कैलालीको घोडाघोडी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा निःशुल्क पानी तथा मही वितरण गरेको छ।

तीजको व्रत तथा पूजापाठमा सहभागी व्रतालु महिला तथा श्रद्धालु भक्तजनलाई सहज होस् भन्ने उद्देश्यले घोडाघोडी जेसीजले साडेपानी, सुखड र पहलमानपुर क्षेत्रमा पानी तथा मही वितरण गरेको हो।
कार्यक्रमअन्तर्गत करिब ४० क्यान पानी र ३५० लिटर मही वितरण गरिएको घोडाघोडी जेसीजले जनाएको छ। तीजका दिन व्रत बसेका महिला तथा पूजाआजामा सहभागी श्रद्धालु भक्तजनको चापलाई मध्यनजर गर्दै पानी तथा मही वितरण गरिएको आयोजकको भनाइ छ।
व्रत तथा पूजापाठका क्रममा लामो समयसम्म धार्मिक स्थल तथा सार्वजनिक स्थानमा रहने महिला तथा भक्तजनलाई गर्मीका कारण असहज नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। निःशुल्क पानी तथा मही वितरणबाट व्रतालु महिला, श्रद्धालु भक्तजन तथा सर्वसाधारण लाभान्वित भएका थिए।


घोडाघोडी जेसीज वर्ष २०२६ का कोषाध्यक्ष एवं कार्यक्रम संयोजक जेसी सुरेश बोगटीको संयोजकत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा जेसीजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। उनीहरूले साडेपानी, सुखड र पहलमानपुरका विभिन्न स्थानमा पुगेर पानी तथा मही वितरण गरेका थिए।
कार्यक्रममा सहभागीहरूले तीजको अवसरमा सामाजिक सेवा र मानवीय सहयोगलाई प्राथमिकता दिँदै गरिएको यस्तो कार्यक्रमले पर्वको मौलिकता, सामाजिक सद्भाव तथा आपसी सहयोगको भावना थप मजबुत बनाउने बताएका थिए।

घोडाघोडी जेसीजले युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक, जनचेतनामूलक तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता र हितलाई ध्यानमा राखेर सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने जेसीजले जनाएको छ।
