घोडाघोडी, २१ जेठ २०८३ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–सुखडमा इलाका प्रहरी कार्यालय सुखडको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी प्रसन्नराज चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यापार व्यवसायी, यातायात व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि नगरप्रमुख रावतले समाज सुधार तथा अपराध न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै नेपाल सरकारका सुरक्षाकर्मीहरूलाई साथ र सहयोग गर्नुपर्ने बताए। उनले अपराध नियन्त्रण र शान्ति सुरक्षाको दायित्व प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे।उनले नागरिकहरूले सही सूचना सही समयमा सम्बन्धित निकायलाई उपलब्ध गराए अनुसन्धान तथा अपराध नियन्त्रणमा सहज हुने भन्दै गलत तथा मिथ्या सूचनाबाट बच्न र बचाउन सबैलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै डिएसपी प्रसन्नराज चौधरीले आफू कानुनको पालना गर्दै नागरिकको सुरक्षा, पीडितलाई न्याय र दोषीलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रतिबद्ध रहेको बताए। उनले विभिन्न सरोकारवालाहरूसँग परिचयात्मक छलफल गर्दै प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।“कहिलेकाहीँ कानले सुनेको र आँखाले देखेको कुरा पनि वास्तविक नहुन सक्छ। घटनाको यथार्थ बुझ्न अनुसन्धान आवश्यक हुन्छ,” उनले भने। कुनै पनि दबाब वा प्रलोभनमा नपरी आफू तथा मातहतका प्रहरी कर्मचारीहरू नागरिक सुरक्षामा समर्पित रहने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले अन्यायमा परेका नागरिकले न्याय पाउनुपर्नेमा जोड दिँदै कुनै पनि प्रलोभनका आधारमा मुद्दा दर्ता नगर्ने वा अनुसन्धान प्रभावित पार्ने कार्य हुन नहुने बताए। उनीहरूले प्रहरीलाई आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता समेत जनाए।विभिन्न संघसंस्था तथा सामुदायिक संस्थाका प्रतिनिधिहरूले भ्रष्टाचार, चोरी, ठगी, तस्करी तथा सडक दुर्घटनाजस्ता अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यस अभियानमा आम नागरिकको पनि सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।

सहभागीहरूले नेपाल प्रहरी नागरिकको जिउधनको सुरक्षाका लागि भरोसायोग्य, आशालाग्दो र अपराधीका लागि डर लाग्दो संस्थाका रूपमा स्थापित हुनुपर्ने सुझाव दिएका थिए।यसैगरी, इलाका प्रहरी कार्यालय सुखड मातहत रहेका अस्थायी प्रहरी चौकीहरूमा आवश्यक जनशक्ति व्यवस्थापन, इन्धन आपूर्ति तथा भौतिक पूर्वाधार सुदृढीकरण गर्नुपर्ने विषयमा पनि नागरिकहरूले सुझाव दिएका थिए।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक खेमविक्रम केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सुनिल विक्रम शाहले गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *