भजनी, १ जेठ २०८३ । कैलाली जिल्लाको भजनी नगरपालिका मा “बालमैत्री पालिका, समावेशी समाजको आधार” भन्ने मूल नाराका साथ बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यार्ड नेपाल ले आयोजना गरेको उक्त कार्यक्रम वर्ल्ड भिजन को सहयोग तथा मलवारा डल्फिन मिडिया मञ्च को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको संयोजन पिताम्बर पौडेलले गरेका थिए भने सञ्चालन रतनलाल चौधरीले गरेका थिए।

कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणाका लागि सञ्चारमाध्यमको भूमिका विषयमा विशेष छलफल गरिएको थियो। यार्ड नेपालले विगतका वर्षदेखि बालबालिकाको हकअधिकार सम्बन्धी सञ्चालन गरेका गतिविधि तथा तथ्यांक प्रस्तुत गर्दै बाल समृद्धिका मुद्दालाई उजागर गरिएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक पिताम्बर पौडेलले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सहभागितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी ऋजु चुकाहा चौधरी ले भजनी नगरपालिकाले सामाजिक, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालनका लागि ४ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै बालमैत्री प्रोफाइल तयार भइसकेको र छिट्टै कार्यान्वयनमा जाने बताइन्।

अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले बालबालिकालाई लागूऔषध तथा ड्रग्स ओसारपसारमा प्रयोग गरिने समस्या बढ्दै गएको, अभिभावकको कमजोरीका कारण धेरै बालबालिका विद्यालय शिक्षाबाट वञ्चित भइरहेको तथा जन्मदर्ता नहुँदा कतिपय बालबालिका विद्यालय भर्नाबाट समेत बाहिरिनुपरेको विषय उठाएका थिए।

बालबालिकामा सकारात्मक आनीबानी विकास गर्न सडक नाटक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव समेत कार्यक्रममा दिइएको थियो।

त्यसैगरी विद्यालयमा वितरण गरिने दिवा खाजाको गुणस्तर, पारदर्शिता तथा व्यवस्थापनका विषयमा समेत गम्भीर छलफल भएको थियो। सहभागीहरूले कतिपय विद्यालयमा गुणस्तरहीन खाजा वितरण भइरहेको तथा भ्रष्टाचार मौलाएको गुनासो गर्दै प्रभावकारी अनुगमन संयन्त्र आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा समाज रूपान्तरण तथा बालबालिकासम्बन्धी समस्याको उजागर र समाधानका उपाय खोज्न सञ्चारमाध्यमको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता अभियानमा सञ्चारकर्मी र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *