कैलाली २८ वैशाख, । काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको ना ८ ख १९४९ नम्बर प्लेट भएकाे खप्तड मालिका यात्रुवाहक नाइट बस चिसापानी क्षेत्र नजिक बर्दिया राष्टिय निुकुञ्जमा दुर्घटनामा पर्दा २१ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
२१ जनाकाे विवरण यस्ताे रहेकाे छ ।
दुर्घटनामा घाइते भएकामध्ये डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बस्ने ३० वर्षीया उर्मिला भट्टको दुवै हात र खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । त्यस्तै ३६ वर्षीया निलम भट्टको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बझाङको केदारस्यु गाउँपालिका–५ बस्ने ३२ वर्षीय भक्तबहादुर धामीको दाहिने हात र खुट्टामा चोट लागेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने २५ वर्षीया रमिता बिष्टको कम्मरमा चोट लागेको छ र उनको स्थानीय आरम्भ क्लिनिकमा उपचार भइरहेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–३ मिन्दी बस्ने २२ वर्षीया लक्ष्मी बोहरा सामान्य घाइते भएकी छन् । लम्कीचुहा नगरपालिका–१ अमौरी बस्ने १९ वर्षीय जीवन रावलको बायाँ खुट्टाको थाई र गालामा चोट लागेको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–९ बस्ने ३२ वर्षीय चेतराज जोशीको बायाँ हातको कुइना र हत्केलामा चोट लागेको छ भने धनगढी उपमहानगरपालिका–३ बस्ने ३० वर्षीय नरेन्द्र नाथ सामान्य घाइते भएका छन् ।
टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय विशाल मगर, बझाङको मष्टा गाउँपालिका–४ बस्ने १८ वर्षीय राजेश जोशी, अछामको साँफेबगर नगरपालिका–११ बस्ने १९ वर्षीय युवराज दास र मेल्लेख गाउँपालिका–१ बस्ने १७ वर्षीय दिनेश धामी पनि सामान्य घाइते भएका छन् ।
अछामको रामारोशन गाउँपालिका–३ मुजाबगर बस्ने १९ वर्षीया लक्ष्मी खत्रीको दुवै खुट्टामा चोट लागेको छ । बैतडीको मेलौली नगरपालिका–१ बस्ने २६ वर्षीय अनिलसिंह नायक सामान्य घाइते भएका छन् ।

बस चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–३ बस्ने २३ वर्षीय सन्तोष मल्लको दुवै खुट्टा र हातका औंलासहित घाँटीमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ भुरीगाउँ बस्ने ३६ वर्षीया अमृता खड्काको टाउकोमा चोट लागेको छ भने ४० वर्षीया रिता खत्रीको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै ५४ वर्षीय देवी खड्काको दाहिने खुट्टामा चोट लागेको छ । बाजुराको खप्तडछेडेदह गाउँपालिका–१ बस्ने २५ वर्षीय केशव नेपालीको दुवै काँधमा चोट लागेको छ भने कैलालीको लम्कीचुहा नगरपालिका–८ बस्ने ४२ वर्षीय सुरज टमटाको दुवै हात र खुट्टामा चोट लागेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बस्ने ३१ वर्षीय मनोज भट्टको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते सबैको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

