काठमाडौं २४ बैशाख — संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीश पदका लागि न्यायाधीश मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बिहीबार बसेको परिषद् बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

पर्साको वीरगन्जमा २०२७ असार ४ गते जन्मिएका शर्मा कानुन क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्। उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि हासिल गरेका छन्। साथै, त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि (पीएचडी) समेत गरेका छन्।

शर्मा २०५२ सालमा अधिवक्ताका रूपमा दर्ता भई कानुनी अभ्यासमा सक्रिय भएका थिए। उनले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानुनी परामर्श सेवा पनि प्रदान गर्दै आएका थिए।

न्यायिक क्षेत्रमा उनले २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म बुटवल तथा पाटन पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेका थिए। त्यसपछि २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त भएका शर्मा पाँच वर्षपछि प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका हुन्।

संवैधानिक परिषद्को सिफारिसपछि अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट उनको नियुक्ति हुने संवैधानिक व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *