घाेडाघाेडी २४ बैशाख । कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित वडा कार्यालय भवनको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य सम्पन्न भएको छ। वडा कार्यालयले भवन पुनः सञ्चालनमा आएपछि दोस्रो दिनदेखि नै नियमित सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ।

गत भदौ २३ र २४ गते देशभरि भएको जेन्जी आन्दोलनका क्रममा घोडाघोडी नगरपालिकाका १२ वटै वडा कार्यालय तथा नगरपालिका भवनमा आगजनी र तोडफोड हुँदा संरचनामा ठूलो क्षति पुगेको थियो। त्यसपछि करिब नौ महिनापछि नगरपालिकाले वडा कार्यालय भवनहरूको पुनर्निर्माण तथा मर्मत सम्भार कार्यलाई तीव्रता दिएको हो।
वडा सदस्य जालुराम थारु चौधरी ले वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै सम्पूर्ण वडावासीलाई छिट्टै सहज रूपमा सेवा प्रदान गरिने बताएका छन्। उनका अनुसार भवन सञ्चालनमा आएसँगै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सहज हुने अपेक्षा गरिएको छ।

वडा सचिवले जेन्जी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछि सेवा प्रवाहमा निकै कठिनाइ भएको उल्लेख गर्दै अब भवन मर्मत तथा पुनर्निर्माण सम्पन्न भएसँगै नियमित प्रशासनिक सेवा सहज हुने जानकारी दिएका छन्।


निर्माण व्यवसायी धीरेन्द्र कठायत ले वडा कार्यालय भवनको कार्य १०० प्रतिशत सम्पन्न भएको बताएका छन्। उनले जेन्जी आन्दोलनका क्रममा सरकारी संरचनामा भएको आगजनी र तोडफोडले राज्यलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै पहिलो चरणमै सम्झौता भएको २०/२१ दिनभित्र निर्माण कार्य सम्पन्न गरिएको दाबी गरेका छन्।
याे समाचार पढेर तपाइलाइ कस्ताे लग्याे ?
