घोडाघोडी १४ बैशाख २०८३ — कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–९ रतिपुरमा करिब ५ बिघा जमिनमा २८ हजार बिरुवा रोपेर सामूहिक रूपमा तरबुज खेती गरिएको छ। स्थानीय किसानहरूले भाडामा जमिन लिएर सुरु गरेको यस खेतीले उत्पादनमुखी कृषि अभ्यासलाई थप उत्साह दिएको छ।

उक्त बारीको अनुगमन तथा अवलोकन गर्न घोडाघोडी नगरपालिका कृषि शाखाका प्रमुख जनकसिंह धामी, प्राविधिक गणेशबहादुर शाही र वडा नम्बर ९ का वडा अध्यक्ष हरिचन्द्र शाह किसानको खेतमै पुगेका थिए। सो क्रममा खेतमा उत्पादन भइरहेका तरबुजको अवस्था, उत्पादन क्षमता तथा बजार व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।

कृषि शाखा प्रमुख जनकसिंह धामीले किसानहरूको मेहनतप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रमा राज्यको थप ध्यान आवश्यक रहेको बताए। उनले प्रविधिमैत्री कृषि प्रणाली, यन्त्रीकरण तथा वास्तविक किसानको पहिचान गरी उनीहरूलाई तालिम, गोष्ठी र प्रोत्साहन कार्यक्रममार्फत हौसला दिनुपर्नेमा जोड दिए। साथै, आगामी दिनमा किसानमुखी बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

त्यस्तै, कृषि प्राविधिक गणेशबहादुर शाहीले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्ताले स्वदेशी उत्पादनको उपभोग गर्नुपर्नेमा जोड दिए। यसले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

वडा अध्यक्ष हरिचन्द्र शाहले आफ्नै वडामा यस्ता उत्पादनमूलक कार्य भइरहेकोमा खुसी व्यक्त गर्दै किसानको पक्षमा राज्यले प्रभावकारी नीति तथा बजेट ल्याउनुपर्ने बताए।

यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरू पनि सामूहिक रूपमा कृषि उत्पादनमा सक्रिय छन्। उनीहरूले सिजनअनुसार आलु, धान, गहुँ, मकै लगायतका बाली खेती गर्दै आएका छन्। किसान डबलबहादुर शाहले आफू पार्टीसँग आबद्ध भए पनि कृषि उत्पादनमार्फत देशको सेवा गरिरहेको बताए।

उनका अनुसार स्थानीय उत्पादनको बजारीकरणमा अझ ध्यान दिन आवश्यक रहेको छ। साथै, नासिने खालका कृषिजन्य वस्तुहरूका लागि कोल्ड स्टोर, चिस्यान गृह र भण्डारण गृहको व्यवस्था गर्न सके किसानलाई ठूलो राहत पुग्ने उनले बताए।

हाल गर्मी सिजनमा उत्पादन भएको तरबुज स्थानीय तथा बाह्य बजारमा आपूर्ति गर्दै बिक्री वितरण भइरहेको किसानहरूले बताएका छन्।

याे समाचार पढेर कस्ताे लाग्याे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *