कैलाली, १२ वैशाख २०८३ / कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित विवेक रेस्टुरेन्ट एण्ड बारमा आगलागी हुँदा एक जना कामदारको ज्यान गएको छ।

ज्यान गुमाउनेमा डडेलधुराको आलिताल गाउँपालिका अन्तर्गत बोहरा गाउँका अन्दाजी ५०–५२ वर्षीय मिनबहादुर बोहरा रहेका छन्।

प्रहरीका अनुसार रातिको समयमा होटल बन्द गरी कोठामा सुतिरहेका बेला विद्युत् आपूर्ति बन्द भएपछि लामखुट्टेबाट बच्न बोहराले अण्डाको क्यारेट बालेर सुतिरहेका थिए। सोही क्रममा बल्याङ्केटमा आगो सल्किएर कोठाभित्र फैलिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार प्रारम्भिक अनुसन्धानमा आगलागी बल्याङ्केटबाट फैलिएको खुलेको छ।
मृतक बोहरालाई सेती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। हालसम्म मृतकका परिवारसँग सम्पर्क हुन नसकेको र पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।

बोहरा लामो समयदेखि उक्त होटलमा काम गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
