घाेडाघाेडी ११ बैशाख २०८३ । विदेशबाट आयात हुने केरालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन बढाउने उद्देश्यका साथ घोडाघोडी नगरपालिकाका किसान धन बहादुर बुढाले केरा खेतीमा उल्लेखनीय पहल गरेका छन्। “न्यु झरना कृषि तथा पशुपंक्षी फर्म” सञ्चालन गर्दै आएका बुढाले करिब ८० हजार रुपैयाँ लगानीबाट सुरु गरेको केरा खेती अहिले विस्तार हुँदै गएको छ।

घोडाघोडी नगरपालिका–९ रामशिखरझाला र वडा नम्बर ११ मा करिब ७ बिघा जमिन भाडामा लिएर उनले व्यावसायिक केरा खेती गरिरहेका छन्। फर्ममार्फत एकजना प्राविधिकसहित दुईजना कामदारलाई प्रत्यक्ष रोजगारी दिएका छन् भने उनी स्वयं पनि परिवारसहित खेतीमै सक्रिय छन्।
मलेसिया र दुबईमा श्रम गरेर फर्किएका धन बहादुर बुढाले विदेशमा कमाएको अनुभवलाई स्वदेशमै उपयोग गर्ने सोचसहित कृषि क्षेत्रमा हात हालेका हुन्। “आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले केरा खेती सुरु गरेँ,” उनले भने।
तर, उनको यात्रामा चुनौती पनि कम छैन। बुढाका अनुसार नेपालमा केराको बजारीकरण र भण्डारणको अभावका कारण गत वर्ष उत्पादन भएको ठूलो परिमाणको केरा उचित मूल्य नपाएर खेर फाल्नुपरेको थियो। “उत्पादन हुन्छ, तर बजार र भण्डारण नहुँदा किसान मारमा पर्छन्,” उनले गुनासो गरे।

यद्यपि, यस वर्ष भने बजार मूल्य केही सुधार भएको उनले बताए। सरकारले विदेशी केराको आयातमा रोक लगाएपछि स्थानीय उत्पादनले उचित मूल्य पाउन थालेको उनको अनुभव छ। “आयात रोकिएपछि स्वदेशी केराले बजार पायो, मूल्य पनि बढ्यो,” उनले भने।
किसान धन बहादुर बुढाका अनुसार सरकारले प्राविधिक ज्ञान, आधुनिक उपकरण, बजारीकरण र भण्डारणको सुनिश्चितता गरिदिए किसानहरू विदेशिनु नपर्ने अवस्था सिर्जना हुन सक्छ। “सही नीति र सहयोग भए नेपालमै मेहनत गरेर राम्रो आम्दानी गर्न सकिन्छ,” उनले विश्वास व्यक्त गरे।
विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै स्वदेशी कृषि उत्पादन प्रवर्द्धन गर्ने धन बहादुर बुढाको प्रयासले स्थानीयस्तरमा रोजगारी सिर्जना मात्र होइन, कृषि आत्मनिर्भरता तर्फ पनि सकारात्मक संकेत दिएको छ।

प्रकाशितः मिती २०८३ बैशाख ११ गते शुक्रबार। प्रकाशकः राेसन रसाइली
समाचार पढेर कस्ताे लाग्याे प्रतिक्रिया दिनुहाेल ।
