घाेडाघाेडी १० बैशाख २०८३, कैलाली जिल्ला घोडाघोडी नगरपालिका–२ साडेपानीका किसान बलबहादुर बिष्टले करिब २० देखि २५ लाख रुपैयाँ लगानीमा ५०० भन्दा बढी सुन कागतीका बोट रोपेर व्यावसायिक कागती खेती सुरु गरेका छन्। परम्परागत धान–गहुँ खेतीबाट फरक बाटो रोज्दै उनले चार वर्षदेखि १२ कट्ठा जमिनमा कागती बगैंचा विस्तार गरेका हुन्।

कृषिमा केही नयाँ गर्ने सोचका साथ सुरु गरिएको यो व्यवसायबाट उनले मनग्य आम्दानी गर्ने लक्ष्य राखेका थिए। तर अपेक्षा अनुसारको उत्पादन र आम्दानी भने अहिलेसम्म हुन सकेको छैन। बोट खरिद गर्दा पर्याप्त प्राविधिक परामर्श नपाउँदा बोटहरू अत्यधिक बाक्लो भएको र त्यसले गोडमेल तथा उत्पादनमा असर पारेको उनी बताउँछन्।
चार वर्षको अवधिमा कागतीले आंशिक उत्पादन दिए पनि लगानी अनुसारको प्रतिफल नआएको उनको गुनासो छ। यद्यपि, उनी निराश नभई अझै मेहनतका साथ बगैंचाको स्याहारसुसार गर्दै उत्पादन बढाउने अठोटमा छन्।
बिष्टका अनुसार कागतीको बजारीकरण पनि चुनौतीपूर्ण बनेको छ। सिजनमा उत्पादन बढी हुँदा मूल्य घट्ने र भण्डारणको उचित प्रविधि नहुँदा किसानहरू मारमा पर्ने गरेका छन्। “यदि सरकारले भण्डारण र बजारीकरणका लागि उपयुक्त प्रविधि र व्यवस्था गरिदिने हो भने किसानहरू उत्पादन बढाउन हिच्किचाउने छैनन्,” उनले भने।
कागतीको प्रयोग अचार, जुस तथा सर्बतका रूपमा हुने भएकाले यसको बजार सम्भावना राम्रो रहेको उनी बताउँछन्। स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिने कागतीको माग वर्षभरि नै रहने भए पनि व्यवस्थापनको अभावले किसानले उचित लाभ लिन सकेका छैनन्।

कृषिप्रति गहिरो रुचि राख्ने बिष्ट अन्य व्यवसायभन्दा खेतीपातीमै आत्मसन्तुष्टि मिल्ने बताउँछन्। उनी भन्छन्, “सरकारले वास्तविक किसानको पहिचान गरी परिचयपत्र वितरण गर्नुपर्छ र आवश्यक कृषि सामग्री तथा प्राविधिक सहयोग अनुदानमा उपलब्ध गराउनुपर्छ।”

उनले कृषि क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम र उत्प्रेरणामूलक योजनाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। “कर्मचारी कार्यालयमा बस्ने होइन, किसानको खेतमा पुग्ने वातावरण बनाउनुपर्छ,” उनले सुझाव दिए।
नेपालमा रोजगारी अभावको कारण विदेशिने युवालाई लक्षित गर्दै उनले देशमै कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताए। “इच्छाशक्ति र मेहनत भए नेपालमै धेरै अवसर छन्,” उनले भने।
बिष्टको अनुभवले देखाउँछ—कृषिमा लगानीसँगै उचित योजना, प्राविधिक ज्ञान र बजार व्यवस्थापन भएमा कागती खेतीजस्ता व्यवसायले राम्रो आम्दानी दिन सक्छ।

प्रकाशित मिती २०८३ बैशाख १० गते बुधबार । प्रकाशकः राेसन रसाइली
समाचार कस्ताे लाग्याे प्रतिक्रिया दिनुहाेला ।
