काठमाडौँ ९ बैशाख २०८३— गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र चौतर्फी आलोचनाबीच उनले निष्पक्ष अनुसन्धानलाई सहज बनाउन पद त्याग गरेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको उल्लेख गर्दै आफूमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्। सार्वजनिक जीवनमा स्वच्छता र नेतृत्वमा उत्तरदायित्व कायम रहनुपर्ने उनले जोड दिएका छन्।

गुरुङले अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले पदबाट अलग भएको स्पष्ट पारेका छन्। उनले आफूविरुद्ध भइरहेका चर्चा र आरोपलाई गम्भीर रूपमा लिएको पनि बताएका छन्।

यसअघि उनले सुरक्षा निकायका प्रमुख तथा राजनीतिक नेतृत्वसँग छलफल गरेका थिए। पछिल्ला दिनमा उनीमाथि शेयर कारोबार तथा व्यावसायिक सम्बन्धका विषयमा प्रश्न उठिरहेका थिए।

उनको कार्यकालमा भ्रष्टाचार तथा बिचौलिया विरुद्ध कडा कदम चालिएको दाबी गरिँदै आएको थियो भने केही व्यवसायीमाथि अनुसन्धान र पक्राउ प्रक्रिया अघि बढिरहेको थियो।

‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले बताएका छन्।

उनले लेखेका छन् :

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

For my country and For the respect of our security forces and For the youths of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *