जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

समाचार

पितमारी पिकनिक स्थल पर्यटकको रोजाइमा, पूर्वाधार विकासको खाँचो

कैलाली ५ बैशाख। कैलाली जिल्ला कर्णाली चिसापानीदेखि उत्तरतर्फ कर्णाली नदी किनारमा अवस्थित पितमारी पिकनिक स्थल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र नदीको मनोरम दृश्यले यहाँ आउनेको संख्या दिनानुदिन बढ्दै गएको स्थानीयले बताएका छन्।

लम्कीचुहा नगरपालिका–३ अन्तर्गत पर्ने चिसापानी बजारबाट सोल्टा कुइने जाने बाटोमै पर्ने पितमारी क्षेत्र पिकनिक तथा घुमघामका लागि प्रख्यात बन्दै गएको छ। विशेषगरी दशैं, तिहार, नयाँ वर्ष, होली, पुष १५ र क्रिसमस जस्ता पर्वमा विभिन्न जिल्लाबाट पर्यटकहरू यहाँ पुग्ने गरेका छन्।

कर्णाली नदीको किनारमा सलल बग्ने चिसो पानी, स्वच्छ हावा र मन लोभ्याउने चट्टानी भू–बनोटले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ। यहाँ आउने पर्यटकहरू फोटो खिच्ने, टिकटक तथा रिल्स बनाउने र स्विमिङ गर्ने जस्ता गतिविधिमा रमाउने गरेका छन्। परिवार, साथीभाइसँग रमाइलो गर्नका लागि उपयुक्त गन्तव्यको रूपमा पितमारी चिनिँदै गएको छ।
यस क्षेत्रको नजिकै रहेको कर्णाली पुल पूर्व–पश्चिम राजमार्गसँग जोडिएको महत्वपूर्ण संरचना भएकाले पर्यटक आकर्षणमा थप टेवा पुगेको छ। साथै, आसपास क्षेत्रमा केवलकार निर्माणको पहलले पनि पर्यटन विकासको सम्भावना बढाएको छ।


तर, पितमारी क्षेत्रलाई व्यवस्थित र दीगो पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार विकास अझै चुनौतीपूर्ण रहेको देखिन्छ। विशेषगरी सडक सञ्जाल कमजोर हुँदा यात्रामा कठिनाइ हुने गरेको पर्यटकहरूले गुनासो गरेका छन्। कच्ची सडकका कारण वर्षायाममा आवागमन झन् असहज हुने गरेको छ।
स्थानीयवासीले पितमारी क्षेत्रको समुचित विकासका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। सडक स्तरोन्नति, सरसफाइ व्यवस्थापन, सुरक्षा तथा आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्न सकेमा पितमारी आगामी दिनमा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *