कैलाली — घोडाघोडी नगरपालिका वडा नं. १० मा अवस्थित बुलबुले पार्क पछिल्लो समय स्थानीय पर्यटकीय क्षेत्रको रूपमा तीव्र रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्य र रहस्यमय विशेषताका कारण यो पार्क आन्तरिक पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ।

मिति १२/१२/२०८१ मा बुलबुले सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने यस पार्कको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले एक विशेष समिति गठन गरिएको छ। उक्त समितिले पार्कको व्यवस्थापन, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका विभिन्न योजनाहरू अघि बढाउने जनाएको छ।


स्थानीयवासीका अनुसार यस ठाउँको सबैभन्दा अनौठो विशेषता भनेको मानिसहरूको आवाज र चालअनुसार पानीका फोहरा बुलबुल गर्दै माथि उठ्ने गरेको देखिन्छ। यही रहस्यमय विशेषताले बुलबुले पार्कलाई अन्य पर्यटकीय स्थलभन्दा फरक बनाउँदै आएको छ।

प्राकृतिक वातावरण, हरियाली र अनौठो पानीका फोहराहरूको संयोजनले बुलबुले पार्कलाई घोडाघोडी क्षेत्रकै एक महत्वपूर्ण गहनाको रूपमा स्थापित गर्दै लगेको छ। स्थानीय सरकार र समुदायको सक्रियतासँगै आगामी दिनमा यो क्षेत्र अझ व्यवस्थित र लोकप्रिय पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

