कैलाली — नयाँ वर्ष २०८३ को अवसरमा टीकापुर पार्क मा आन्तरिक पर्यटकहरूको उल्लेखनीय भीड देखिएको छ। स्थानीय तथा बाह्य जिल्लाबाट आएका हजारौं पर्यटकहरूले पार्क क्षेत्रमा घुमफिर, अवलोकन तथा मनोरञ्जन गरेका छन्।


टीकापुर पार्क, जसलाई टीकापुर बृहत उद्यान तथा “बङ्गला” नामले पनि चिनिन्छ, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रूपमा परिचित छ। राजा महेन्द्र को पालामा स्थापना भएको यो पार्क कुनै समय राजपरिवारको विश्रामस्थलका रूपमा प्रयोग हुने गरेको थियो। राजा वीरेन्द्र तथा रानी ऐश्वर्य समेत यहाँ आउने गरेको ऐतिहासिक तथ्य भेटिन्छ।


पार्कको इतिहाससँग जोडिएको एक महत्वपूर्ण घटना वि.सं. २०२४ सालमा राजा महेन्द्र लाई शिकारका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हृदयाघात भएको प्रसङ्ग हो।

त्यसपछि उहाँलाई टीकापुर ल्याई उपचार गरिएको थियो। केही समयका लागि यो क्षेत्र अस्थायी राजधानीको रूपमा समेत प्रयोग गरिएको ऐतिहासिक अभिलेखमा उल्लेख छ।
हाल पार्कभित्र आकर्षक बगैँचा, फूलहरू, स्तम्भ, विश्रामस्थल र पानीको फोहरा रहेका छन्, जसले पर्यटकलाई लोभ्याउने गरेका छन्। फोटो खिच्ने तथा परिवारसहित घुम्न आउनेहरूको संख्या उल्लेखनीय देखिन्छ।


पार्क बाहिरको क्षेत्रमा बनभोज स्थलको व्यवस्था गरिएको छ, जहाँ विशेष गरी असोज, कार्तिक र मंसिर महिनामा मानिसहरूको ठूलो जमघट हुने गर्दछ। तिहारको समयमा देउसी–भैलो खेल्ने समूहहरूले पनि यही क्षेत्रमा पिकनिक आयोजना गर्ने गरेका छन्।

साथै नजिकै बग्ने कर्णाली नदी बाट छुट्टिएको शाखा नदीमा र्‍याफ्टिङ तथा पौडी खेलेर मनोरञ्जन लिने गतिविधि समेत बढ्दै गएको छ।
स्थानीय सरकार तथा सरोकारवाला निकायले पार्कको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै आएका छन्। उचित व्यवस्थापन र पूर्वाधार विकाससँगै टीकापुर पार्क सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *