जनकपुर, २४ फागुन — धनुषा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा खारेज भइसकेका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएपछि मतपरिणाम अन्योलमा परेको छ।

पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको चुनाव चिह्न घण्टी मा २० हजार ९१६ मत परेको छ, जुन अन्य उम्मेदवारको मतभन्दा १३ हजारभन्दा बढी हो।

तर, साहको उम्मेदवारी यसअघि नै खारेज भइसकेकाले निर्वाचन आयोग ले उक्त मतसमेत समेटिएको आधिकारिक मतपरिणाम सार्वजनिक गरेको छैन।

उम्मेदवारी कायम रहेका उम्मेदवारहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादव ७ हजार ५६६ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा नेपाली कांग्रेस का रामपल्टन साहले ७ हजार ४२८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामचन्द्र मण्डलले ६ हजार ६०५ मत पाएका छन्।

रास्वपाका उम्मेदवार साहविरुद्ध १० फागुनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा रहेको भन्दै उजुरी दर्ता भएपछि उक्त उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाइएको थियो।

आयोगले १४ फागुनमा साहसँग स्पष्टीकरण र प्रमाण पेस गर्न निर्देशन दिएको थियो। त्यसपछि १८ फागुनमा आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

उम्मेदवारी खारेज भएपछि साहले निर्णयविरुद्ध सर्वोच्च अदालत मा रिट निवेदन दर्ता गरेका छन्। उक्त रिटमाथि २४ फागुनमा पेसी तोकिए पनि हालसम्म कुनै आदेश जारी भएको छैन।

यसबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयले घण्टी चुनाव चिह्नमा परेको मतको व्यवस्थापनबारे आयोगसँग निर्णय मागेको थियो। त्यसपछि आयोगले तीन बुँदे निर्देशन जारी गर्दै घण्टी चिह्नमा स्वस्तिक छाप लागेको मतपत्रलाई पनि छुट्टै लगत राखेर गणना गर्न निर्देशन दिएको छ।

आयोगले ती मतपत्रबाहेक अन्य उम्मेदवारका मतपत्र गणना गरी नियमअनुसार निर्वाचन परिणाम सार्वजनिक गर्नसमेत निर्देशन दिएको छ।

हाल सोही निर्देशनअनुसार मतगणना जारी छ। तर, खारेज भइसकेका उम्मेदवारले अत्यधिक मत पाइरहेका कारण अन्तिम परिणाम कस्तो हुने भन्ने विषयमा अन्योल कायम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *