घाेडाघाेडी २४ फाल्गुन — कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगत प्रसाद जोशी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार २० हजार ३५९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरमान चौधरी लाई ८ हजार ३७६ मतान्तरले पराजित गरेका हुन्। वीरमान चौधरी ले ११ हजार ९८३ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेस का बलिया उम्मेदवार मानिएका भीम बडुवाल तेस्रो स्थानमा झरेका छन्। उनले ९ हजार ७०६ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी नेपाल का विक्रम चौधरी ले ६ हजार ७४७ मत ल्याएका छन्।यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) चौथो स्थानमा पुगेको छ। एमाले उम्मेदवार गौरीशंकर चौधरी ले ४ हजार ७५२ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी का वीरेन्द्र बहादुर बम ले २ हजार ३४७ मत प्राप्त गरेका छन्।

वि.सं. २०४३ साल साउन २८ गते बझाङको तत्कालीन बाझगाउँ, हाल जयपृथ्वी नगरपालिका–२ मा जन्मिएका जोशीको बाल्यकाल पहाडी परिवेशमै बितेको थियो। उनका बुबा लक्ष्मीराज जोशी शिक्षण पेसामा आबद्ध थिए भने आमा जमुना देवी गृहिणी हुन्।

वि.सं. २०५३ सालमा उनको परिवार कैलालीको पहलमानपुर, हाल घोडाघोडी नगरपालिका–१० मा बसाइँ सरेको थियो। प्रारम्भिक शिक्षा बझाङमै लिएका उनले कैलाली आएपछि कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। पढाइमा अब्बल जोशीले विज्ञान विषयमा आईएस्सी अध्ययन गरी शिक्षाशास्त्रमा स्नातकोत्तर (एम.एड) सम्मको अध्ययन पूरा गरेका छन्।

जोशीको राजनीतिक यात्रा राष्ट्रिय जनमोर्चाबाट सुरु भएको हो। वि.सं. २०५६ सालदेखि अनेरास्ववियु छैटौँबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी विद्यार्थी संगठनको केन्द्रीय पार्षद् हुँदै राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष तथा पार्टीको केन्द्रीय पार्षद्सम्म भएका थिए।

संसदीय राजनीतिमा भने उनले पटक–पटक असफलता व्यहोरेका थिए। वि.सं. २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार बने पनि पराजित भए। त्यसपछि २०७४ सालमा प्रदेश सभाको समानुपातिक उम्मेदवार बने तर सफलता हासिल गर्न सकेनन्। २०७९ साल वैशाखमा आफ्नै वडा घोडाघोडी–१० को वडा अध्यक्ष पदमा उम्मेदवारी दिए पनि उनले हार व्यहोर्नुपरेको थियो।

लामो समय शिक्षण पेसा र कम्युनिस्ट राजनीतिमा सक्रिय जोशीका लागि ती हारहरू निराशाजनक हुन सक्थे। तर उनले हार मानेनन्। निरन्तरको पराजय र पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति बढ्दो असन्तुष्टिबीच देशमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्न थालेपछि उनले २३ वर्ष लामो राजनीतिक आबद्धता परिवर्तन गर्ने निर्णय गरे।

गत साउन ३ गतेसम्म उनी राष्ट्रिय जनमोर्चा कैलालीका जिल्ला अध्यक्ष थिए। सोही दिन उनले पार्टी र पदबाट राजीनामा दिए। भोलिपल्ट साउन ४ गते घोडाघोडी–१० को वडा अधिवेशन चलिरहेका बेला उनी औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।

रास्वपाले उनको लामो राजनीतिक अनुभव, शैक्षिक योग्यता र समाजमा बनेको स्वच्छ छविलाई मूल्याङ्कन गर्दै प्रतिनिधि सभाको टिकट दिएको थियो।

निर्वाचन अभियानका क्रममा आर्थिक अभावका बाबजुद उनले घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएका थिए। “पैसा थिएन, विचार लिएर जनताको घरदैलोमा पुगेँ,” जोशीले भने। उनका अनुसार ठूलो तामझामसहित प्रचार गर्ने क्षमता नभए पनि मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन मागे।

फाल्गुन ६ गतेदेखि सुरु गरेको घरदैलो अभियानअन्तर्गत उनले सकेसम्म प्रत्येक मतदाताको घरमा पुग्ने प्रयास गरेका थिए। अघिल्लो वडा चुनावमा पराजित भए पनि यस पटक मतदाताले उनलाई विश्वास गर्दै विजयी बनाएको उनले बताए।

शिक्षण पेसामा रहँदा बनाएको सकारात्मक छवि, निरन्तरको जनसम्पर्क र नयाँ राजनीतिक शक्तिप्रति बढेको आशाले उनको जित सम्भव भएको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *