जलालाबाद, फागुन १७ — अफगानिस्तान र पाकिस्तानबीच बढ्दो सैन्य तनावका बीच शनिबार जलालाबादमा पाकिस्तानी लडाकु जेट खसालिएको अफगान पक्षले जनाएको छ। अफगान सुरक्षाकर्मीले जेटका पाइलटलाई जीवितै पक्राउ गरेको दाबी गरेका छन्।

अफगान अधिकारीका अनुसार जलालाबादको प्रशासनिक क्षेत्र नम्बर ६ मा उडिरहेको जेटलाई गोली हानी खसालिएको हो। घटनापछि सहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पाकिस्तानले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।
यसअघि पाकिस्तानले काबुल र कान्दाहारमा हवाई हमला गरेको थियो। पाकिस्तानको दाबीअनुसार अफगान भूमिबाट सक्रिय Tehrik-i-Taliban Pakistan (टीटीपी) विरुद्ध कारबाही गरिएको हो। अफगान तालिबान सरकारले भने पाकिस्तानी आक्रमणको प्रतिउत्तरस्वरूप जवाफी कारबाही गरिएको जनाएको छ।

दुवै पक्षले ठूलो क्षतिको दाबी गरेका छन्। अफगान पक्षका अनुसार ५५ पाकिस्तानी सैनिक मारिएका छन् भने १३ अफगान सैनिकको मृत्यु भएको छ। पाकिस्तानले भने २ सय ९७ अफगान तालिबान लडाकु मारिएको र आफ्ना १२ सैनिकको ज्यान गएको जनाएको छ। दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
तनावका कारण तोरखाम सीमा क्षेत्रमा सयौं परिवार विस्थापित भएका छन्। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आह्वान गरेका छन्।

