सर्लाही, ७ फागुन ।
मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल पड्किँदा १५ वर्षीय एक बालक घाइते भएका छन्।

बिहीबार दिउँसो स्थानीय रामविश्वास रायका छोरा आकाश रायले मन्दिरभित्र रातो कपडाले बेरिएको वस्तु भेटेपछि खोलेर हेर्दा पेस्तोल फेला पारेका थिए। उक्त पेस्तोललाई नक्कली ठानी चलाउने प्रयास गर्दा अचानक पड्किँदा उनको दाहिने हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनालगत्तै घाइते बालकलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा मा उपचारका लागि भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ।

नेपाल प्रहरी ले घटनास्थलबाट एक थान पेस्तोल र पड्किएको खोका बरामद गरेको जनाएको छ। बरामद गरिएको हतियारको प्रकृति, स्रोत र कसरी मन्दिर परिसरमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
चुनाव नजिकिँदै गर्दा यस्ता घटना सार्वजनिक हुनुले स्थानीयवासीमा त्रास र विभिन्न आशंका उत्पन्न गरेको छ। केही स्थानीयले यस घटनालाई स्वर्गीय इन्जिनियर प्रमोद यादवको हत्या प्रकरणसँग जोडेर समेत हेर्न थालेका छन्। यद्यपि प्रहरीले हालसम्म दुवै घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि नभएको जनाएको छ।

प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै कुनै पनि अफवाह नफैलाउन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

