घाेडाघाेडी १ फाल्गुन २०८२ / कैलाली जिल्लाकाे घोडाघोडी नगरपालिका–८ मा अज्ञात समूहद्वारा पटक–पटक आगजनीका घटना भइरहेकाे सार्वजनिक भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। अति प्रभावित क्षेत्रकाे रूपमा जरही, तिलकनगर, तारानगर, र कल्जुगीमा स्थानिय नागरिककाे गोठ, घर, कुखुरा तथा बङ्गुर फर्म र परालका टौवामा आगो लगाइने घटना विगत चार वर्षदेखि दोहोरिँदै आएको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार हरेक वर्ष कार्तिकदेखि हिउँदो सुरु भएसँगै किसानहरूले धानबाली भित्र्याएर परालको कुनियो बनाएर राख्ने समयमा आगजनीका घटनाहरू बढ्ने गरेका छन्। कतिपय अवस्थामा रातिको समयमा घरभित्र मानिस सुतिरहेको बेला समेत आगो लगाउने गरिएको बताइएको छ। आगलागीबाट घरभित्र रहेका सामग्री जलेर नष्ट हुँदा पीडित परिवार आर्थिक तथा मानसिक रूपमा प्रभावित भएका छन्।

गत माघ २५ गते राति वडा नम्बर ८ अन्तर्गत जरही क्षेत्रमा एकै रातिमा निर्मला जैसीको घर, देवीराम गौतमीको कुखुरा फर्म, स्थानियकाे बङ्गुर फर्म तथा परालको टौवामा आगो लगाइएको स्थानीयले बताएका छन्। त्यस्तै तिलकनगर चौधरी शिविर बस्तीका भलमंसा दिलबहादुर चौधरीको परालमा पनि वर्षेनि आगजनी हुँदै आएको दाबी गरिएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान अहिलेसम्म हुन नसकेको जनाइएको छ। स्थानीयका अनुसार प्रहरीले रातिको समयमा शंकास्पद रूपमा भेटिएका केही युवालाई पक्राउ गरे पनि अभिभावकको पहलमा पुनः छुटाएर ल्याउने गरिएको छ। यसले आगजनीमा संलग्न समूहलाई थप हौसला मिलेको आशंका गरिएको छ।

लगातारका घटनाले वडा नम्बर ८ का नागरिकहरू राति ढुक्कसँग सुत्न नसक्ने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ। “कसैले घरमा आगो लगाइदिन्छ कि भन्ने डरले त्रसित छौं,” भनी स्थानिय बासीहरूले बताएका छन्र ।
यस समस्याको दीर्घकालीन समाधानका लागि वडा, पालिका, सुरक्षा संयन्त्र, जनप्रतिनिधि, समाजसेवी तथा अभिभावकहरूबीच समन्वयात्मक पहल आवश्यक रहेको स्थानीयहरूको माग छ। सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न उनीहरूले सम्बन्धित निकायसँग जाेडदार माग गरेका छन्।
यसैबीच, घोडाघोडी–८ आमफाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णय भई बजेट समेत विनियोजन गरिए पनि हालसम्म प्रहरी परिचालन नगरिएकोप्रति स्थानीय आक्रोशित बनेका छन्। जनधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको जोडदार माग रहेको छ।

