कञ्चनपुर, माघ १० । कृष्णपुर नगरपालिका–१ स्थित श्री बैजनाथ आधारभूत विद्यालयमा कार्यरत स्थायी शिक्षक गजिराम सार्कीमाथि अमानवीय व्यवहार तथा जातीय भेदभावजन्य क्रियाकलाप भएको आरोपले शिक्षक समुदायमा तीव्र आक्रोश उत्पन्न भएको छ।

नेपाल शिक्षक महासंघ, कृष्णपुर नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार मिति २०८२/१०/०९ मा सरस्वती पूजा समारोहको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले शिक्षक सार्कीलाई पातमा टिका लगाउन बाध्य बनाएको कार्य अमानवीय, अपमानजनक तथा जातीय विभेदजन्य भएको महासंघले ठहर गरेको छ।
महासंघले उक्त घटनालाई नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत दण्डनीय अपराध भएको उल्लेख गर्दै कडा भर्त्सना गरेको छ।

विज्ञप्तिमा महासंघका पदाधिकारीहरूले विद्यालयजस्तो जिम्मेवार शैक्षिक संस्थामा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु केवल व्यक्तिगत अपमान मात्र नभई सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमाथि प्रहार भएको बताएका छन्। यस्ता घटनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गम्भीर नकारात्मक असर पार्ने चेतावनीसमेत महासंघले दिएको छ।
महासंघले सम्बन्धित निकायसमक्ष केही स्पष्ट मागहरू अघि सारेको छ। जसमा घटनाको निष्पक्ष र पारदर्शी छानबिन, दोषी अध्यक्षलाई तत्काल पदबाट हटाई कानुनअनुसार कारबाही, तथा विद्यालयमा समानता, मानव अधिकार र मर्यादाको संरक्षण सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

महासंघका सचिव गणेशराम सार्की, सह–अध्यक्ष दीपक भट्ट र अध्यक्ष पुरन सिंह बौगटीको हस्ताक्षरसहित जारी विज्ञप्तिले शिक्षक समुदायमा समान अवसर, सम्मान र गरिमाको रक्षा गर्ने स्पष्ट सन्देश दिएको छ। साथै समाजलाई यस्ता विभेदजन्य घटनाप्रति सतर्क रहन र समानता कायम गर्न महासंघले अपील गरेको छ।
विज्ञप्तिमा शिक्षाक्षेत्रमा हुने जातीय विभेद र अपमानजन्य कार्यले पीडित शिक्षकको व्यक्तिगत सम्मान मात्र नभई विद्यालयको समग्र शैक्षिक वातावरणमै गम्भीर असर पार्ने भएकाले यसप्रति समाजस्तरमै व्यापक चेतनाको आवश्यकता रहेको उल्लेख गरिएको छ।

घटनापछि स्थानीय शिक्षक, अभिभावक तथा सामाजिक अभियन्ताहरूले पनि गहिरो चिन्ता व्यक्त गर्दै दोषीमाथि तत्काल र कडा कारबाहीको माग गरेका छन्।


