
काठमाडौँ माघ ६ ।। आसन्न फागुन २१ को निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले आज उम्मेदवारी दर्ता गराएका छन्।कैलालीमा जिल्लाको एक मात्र उपमहानगरपालिका क्षेत्र सहितको निर्वाचन क्षेत्र न ५ मा नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपाले आफ्नो पार्टीका चर्चित अनुहारलाई अघि सारेर आज उम्मेदवारी दर्ता गराएको छ ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले उम्मेद्वारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि एकीकृत समाजवादी पार्टीका तर्फबाट डोटीबाट निर्वाचित भएका आले यसपटक कैलाली ५ बाट उम्मेदवार बनेका हुन्।

डोटीबाट २०६४ सालमा पहिलो संविधान सभाको चुनावमा पराजित भएका आले त्यसपछिका चुनाव डोटीबाट लगातार जित हासिल गर्दै आएका नेता हुन् । सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट यज्ञराज ढुङ्गानाले उम्मेदवारी दर्ता गरेका छन्।

नेकपा एमाले कैलालीका अध्यक्षसमेत रहेका ढुङ्गानालाई यो पटक पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको हो। त्यस्तै नेपाली काङ्ग्रेसका तर्फबाट कैलाली निर्वाचन क्षेत्र ५ का लागि नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराएका छन् । कैलाली –५ मा नेपाली काँग्रेस, नेकपा एमाले, रास्वपा, नेकपा र स्वतन्त्र गरी १४जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
