काठमाडौँ, माघ ११ — राष्ट्रिय सभाको शक्ति सन्तुलन फेरिएको छ। हालै सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेस दोस्रो शक्तिबाट उक्लिँदै पहिलो स्थानमा पुगेको छ भने यसअघिको पहिलो शक्ति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आठ सिट गुमाउँदै दोस्रो स्थानमा झरेको छ। नेकपा एमाले तेस्रो शक्तिका रूपमा कायम रहेको छ।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था अनुसार यसपटक रिक्त १९ पदमध्ये एक मनोनीत र एक निर्विरोध बाहेक १७ पदका लागि आइतबार निर्वाचन भएको थियो। उक्त निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनले सबै १७ वटै सिट जित्दै एकलौटी विजय हासिल गरेको छ।
गठबन्धन अनुसार कांग्रेसले ९, एमालेले ८ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिट पाएका थिए। निर्वाचन परिणामअनुसार कांग्रेसको राष्ट्रिय सभामा सिट संख्या २५ पुगेको छ, जससँगै कांग्रेस सबैभन्दा ठूलो शक्ति बनेको हो। यस निर्वाचनमा कांग्रेसका कुनै पनि सांसदको पदावधि सकिएको थिएन। यसअघिको १६ सिटमा थप ९ सांसद निर्वाचित भएसँगै सिट संख्या २५ पुगेको हो।

एमालेतर्फ १० मध्ये ८ सांसदको पदावधि सकिएको थियो। पदावधि सकिनेमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका थिए। निर्वाचनपछि एमालेबाट पुनः ८ जना नै निर्वाचित भएपछि पार्टीले आफ्नो १० सिट जोगाउन सफल भएको छ।

तत्कालीन माओवादी केन्द्रका १७ र एकीकृत समाजवादीका ८ सांसद मिलेर बनेको नेकपाको राष्ट्रिय सभामा कुल २५ सांसद थिए। यसपटक पदावधि सकिएका ८ सांसद पुनः निर्वाचित हुन नसकेपछि नेकपाको सिट संख्या घट्दै दोस्रो स्थानमा सीमित भएको छ।
नेकपाबाट गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेल्वासे, जगप्रसाद शर्मा, तामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको पदावधि सकिएको थियो।

यसैगरी तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक सांसदको पदावधि सकिएको थियो। एकीकरणपछि बनेको एकीकृत जसपाको राष्ट्रिय सभामा चार सांसद थिए, जसमध्ये मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंहको पदावधि समाप्त भएको छ। गठबन्धन अनुसार जसपाले पाएको एक सिटमा पार्टी संरक्षक महन्थ ठाकुर निर्वाचित भएका छन्।
कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमको पनि पदावधि सकिएको छ।
पदावधि सकिएका सबै सांसदहरूको औपचारिक बिदाइ आगामी फागुन २१ गतेदेखि हुने संसद् सचिवालयले जनाएको छ।

