प्रहरी हिरासतमा गुरु चरण चमारको मृत्यु प्रकरणः छानबिन र कारवाहीको माग
बाँके २० पुष २०८२ । बाँके जिल्लाको जानकी गाउँपालिका–५ निवासी ४७ वर्षीय गुरु चरण चमारको प्रहरी हिरासतमा भएको मृत्यु घटनाप्रति नेपाली चमार समुदायहरूको साझा संगठन चमार कल्याण समाज नेपाल ले गम्भीर ध्यानाकर्षण जनाउँदै घोर भर्त्सना गरेको छ। संगठनले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न दलित आयोगसहित सम्बन्धित निकायसँग पुष १८ गते ज्ञापनपत्र सहित माग गरेको छ।
पीडित परिवारबाट प्राप्त जानकारीअनुसार, कुनै ठोस प्रमाण र कसुर नहुँदा नहुँदै मृतक गुरु चरण चमारमाथि सवारी ज्यान मुद्दा दायर गरिएको, हिरासतमा रहँदा जबरजस्ती कागज गराइएको तथा प्रहरीको असावधानी र अमानवीय व्यवहारका कारण हिरासतभित्रै मृत्यु भएको गम्भीर आशंका उत्पन्न भएको चमार कल्याण समाज नेपालको भनाइ छ।
संगठनले जारी गरेको विज्ञप्तिमा प्रहरी हिरासतभित्र भएको उक्त घटनाले राज्यका सुरक्षा निकायप्रति आम नागरिक, विशेषगरी दलित समुदायको विश्वासमा गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक राज्य व्यवस्थामा प्रहरी हिरासतभित्र कुनै पनि व्यक्तिको मृत्यु हुनु अत्यन्तै संवेदनशील र गम्भीर विषय हो। यस्तो घटनालाई सामान्य रूपमा लिनु मानवअधिकार, विधिको शासन र संविधानले प्रत्याभूत गरेको जीवनको अधिकारमाथिको ठाडो उल्लङ्घन हो।”
यस सन्दर्भमा चमार कल्याण समाज नेपालले पाँच बुँदे माग अघि सारेको छ।
मागहरूमा गुरु चरण चमारको मृत्यु घटनाको निष्पक्ष, स्वतन्त्र र सूक्ष्म छानबिन उच्चस्तरीय न्यायिक आयोगमार्फत गरिनु पर्ने, घटनामा संलग्न वा लापरवाही गर्ने सम्पूर्ण दोषी प्रहरी कर्मचारीमाथि कडा कानुनी कारवाही हुनु पर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति, उपचार, कानुनी सहायता र संरक्षण उपलब्ध गराइनु पर्ने उल्लेख छ।
त्यसैगरी प्रहरी हिरासतमा हुने यातना, जबरजस्ती कागज गराउने र झुटा मुद्दा हाल्ने प्रवृत्तिको अन्त्यका लागि कानुनी तथा संस्थागत सुधार गर्न र दलित समुदायमाथि लक्षित दमन तथा प्रहरी अत्याचारका घटनाहरूको राष्ट्रिय स्तरमा छानबिन गर्न पनि संगठनले माग गरेको छ।
विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, “यदि यो घटनालाई सामान्य मृत्युको रूपमा ढाकछोप गर्ने, दोषीलाई जोगाउने वा पीडितलाई मौन बस्न बाध्य पार्ने कुनै पनि प्रयास गरियो भने चमार कल्याण समाज नेपाल देशव्यापी आन्दोलन, सडक संघर्ष, अन्तर्राष्ट्रिय मानवअधिकार निकायसम्म उजुरी तथा कानुनी लडाइँ अघि बढाउन बाध्य हुनेछ।”
“अब न्याय माग्नु अपराध होइन, सहनु अपराध हो। गुरु चरण चमारको न्याय सुनिश्चित नभएसम्म हाम्रो संघर्ष रोकिने छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
संगठनले सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाज, सञ्चार माध्यम तथा अन्तर्राष्ट्रिय समुदायलाई यो राज्यद्वारा भएको गम्भीर मानवअधिकार उल्लङ्घनप्रति तुरुन्त ध्यान दिन कडा अपिल गरेको छ।
—



