जनहित खबर

घोडाघोडी, १३ माघ २०८२ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा बोर्डो मिश्रण तथा बोर्डो पेस्ट प्रयोग विधिसम्बन्धी दुईदिने व्यवसायिक कृषक नगरस्तरीय तालिम सञ्चालन गरिएको छ।

घोडाघोडी नगरपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन भएको उक्त तालिम कृषि शाखा अधिकृत जनक धामीको नेतृत्वमा सचालनमा रहेको थियाे। तालिममा कृषि अधिकृत लोकेन्द्र बिष्टसहित कृषि शाखाका कर्मचारीहरू तथा नगरपालिकाका कृषकहरूकाे सहभागी रहेको थियाे ।

तालिमको पहिलो दिन घोडाघोडी नगरपालिकाका फलफूल बगैँचा व्यवसायिक किसानहरूको उपस्थितिमा बोर्डो मिश्रण बनाउने र प्रयोग गर्ने विधिबारे भौतिक रूपमा अभ्यास गराइएको थियो। अभ्यासात्मक तालिमले रोग कीरा व्यवस्थापनमा किसानहरूलाई प्रत्यक्ष ज्ञान र सीप प्रदान गरेको सहभागीहरूले बताएका छन्।

तालिममा सहभागी कृषकहरूले नगरपालिकाले पहिलो पटक यस प्रकारको नयाँ विधि अपनाएर तालिम सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै यसले फलफूल बगैँचा व्यवसायलाई सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

उक्त तालिममा प्रशिक्षक तथा प्रशिक्षार्थी गरी जम्मा २५ जनाको सहभागिता रहेको छ। तालिम घोडाघोडी नगरपालिका वडा नं. १ स्थित बेलरमा रहेको लक्ष्मी चौधरीको फलफूल बगैँचामा आयोजना गरिएको हो।

कृषि शाखा अधिकृत जनक धामीका अनुसार तालिमको दोस्रो दिन बोर्डो पेस्ट प्रयोग विधिसम्बन्धी प्रशिक्षण दिइने कार्यक्रम रहेको छ। नगरपालिकाले यस्ता व्यवहारिक र प्रविधिमैत्री तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *