जनहित खबर

"जहाँ छ जनताको चासो, त्यहीँ बन्छ जनहित समाचार — सत्य, तथ्य र निष्पक्षता नै हाम्रो मुख्य आधार!"

Janahit Khabar
समाचार

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला सुरु

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला सुरु

घाेडाघाेडी, माघ १ गते। कैलालीको घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित पुरानो धार्मिक स्थल बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति मेलाको सुरुआत भएको छ। बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख खडक बहादुर रावतले मेलाको उद्घाटन गरेका हुन्। भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिक स्थल बुट्का बाबाको संरक्षण नाराका साथ सुरु भएको मेला चार दिनसम्म चल्नेछ।

मेलामा कैलाली, बर्दिया, दाङ, कञ्चनपुरलगायत विभिन्न जिल्लाका भक्तजनसहित भारतका तिकुनिया र पलिया क्षेत्रबाट पनि ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन्। कार्यक्रममा राष्ट्रिय र स्थानीय कलाकारका प्रस्तुति, थारु समुदायको परम्परागत नृत्य, भेषभूषा र भोजनको प्रदर्शन हुने मेला व्यवस्थापन समितिका संयोजक अमन चौधरीले बताए। मेला क्षेत्रमा स्थानीय परिकार र उपभोग्य वस्तुका एक सयभन्दा बढी स्टल राखिएको छ।

थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिने र भगवान् शिवले यही स्थानमा ध्यान गरेका विश्वासले गर्दा मन्दिरको नाम बुट्का बाबा परेको स्थानीयको भनाइ छ। माघ महिनामा यहाँ पूजाआजा गरे चिताएको मनोकामना पूरा हुने जनविश्वास छ।

समितिका संयोजक अमन चौधरीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख रावतका साथै वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी तथा स्थानीयको उपस्थिति थियो।
कार्यक्रम राजु बमको स्वागत मन्तव्यबाट सुरु भएको र अन्जान चौधरीले सञ्चालन गरेका थिए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *